आदरणीय फ्रान्सवासी नेपाली बुवाआमा, 
दाजुभाई तथा दिदीबहिनीहरु,
सादर नमस्कार !

नेपालका विभिन्न स्थान, विशेष गरेर पूर्वी क्षेत्रमा आएको भारी वर्षाको कारण बाढी र पहिरोले धेरै धनजनको नोक्सानी भएको छ। तीन दर्जन भन्दा बढी हाम्रा आफन्तहरूले ज्यान गुमाउनु भएको छ र कयौं हाम्रा आफन्तहरू बेपत्ता भएका छन्। कति घाईते भएका छन्। करोडौंको सार्वजनिक सम्पति र व्यक्तिगत सम्पति क्षति भएका छन्। हजारौं हाम्रा आफन्तहरू प्रभावित भएका छन्। हवाई मार्ग, स्थल मार्ग र सरकारी कार्यालयहरू बन्द भएका छन्। मातृभूमिको यो आपतमा हामी प्रवासमा बसेका सबै प्रवासीहरू हाम्रा आफन्तहरूको साथमा रहेको विश्वास दिलाउन चाहन्छु। जन्मभूमिको यो असैह्य वेदना र पीडामा हामी पनि हरतरहको सहयोग गर्न तयार रहेका छौं। यसका लागि एन आर एन फ्रान्सले आबश्यक आर्थिक र भौतिक सहयोग गर्न आबश्यक कदम चालिसकेको र यो विपतमा तत्काल सहयोगको लागि आर्थिक श्रोत जुटाउन आबश्यक प्रकृया चालिसकेको छ। हिमाल, पहाड र तराईमा आएको यो आपतमा तत्काल राहत उपलब्ध गराउन सबै प्रवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाईहरूलाई एन आर एन फ्रान्सले आर्थिक श्रोत जुटाउने प्रकृयामा सहयोग र सकृय सहभागिता जनाई दिन हुन सबैलाई सविनय अनुरोध गर्दछौ। आर्थिक सहयोगको लागि यस गैर आवसिय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद फ्रान्सका कार्यसमिति पदाधिकारीहरू लाई सम्पर्क गरि आफ्नो सहयोग रक़म दिन सक्नु हुनेछ ! सहयोगीहरूको नाम ,सहयोग रक़म हाम्रो वेबसाईट र फ़ेसबुक बाट सार्वजनिक गराईनेछ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा, घाईतेहरूको उपचार, बेपत्ता भएका आफन्तहरूको खोजवीन र आपतमा परेकाहरूलाई उद्धार सामग्री र खाद्यान्न सहयोगमा नेपाल सरकार, सेना, प्रहरी, संघ, सँस्थाहरूको अहोरात्र प्रयासलाई हार्दिक आभार प्रकट गर्दछौं र उहाँहरूको सतत प्रयासलाई साथ दिन र अबरोध नगरिदिन हुन विनम्र अनुरोध गर्दछौं। 
अन्त्यमा जन्मभूमिमा परेको आपतमा हामी प्रवासीहरू काँध, हात, साथ र सहयोग गर्न बिश्वास दिलाउँदै, यो आपतमा परी स्वर्गबास हुनु हुने हाम्रा आफन्तहरूको चीर आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछौं र घाईतेहरूको शीघ्र स्वास्थलाभको कामना समेत गर्दछौं। 
धन्यबाद

भवदिय,

भक्त बदादुर वाग्ले क्षेत्री
अध्यक्ष 
एवं एनआरएनए फ्रान्स परिवार

तस्बिरः प्रधानमन्त्रीको सचिवालय